सीमा विवादबारे संयुक्त संकल्प प्रस्ताव ल्याउनुपर्छ : डा. कोइराला
विराटनगर, ३१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेसले संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताउनुभयो ।
कोइरालाले संसदबाट एउटै संकल्प प्रस्ताव पास गरेर भारत र चीनसँग वार्ता गर्नुपर्ने बताउनुभयो । “अहिले प्रमुख पतिपक्ष दल नेपाली कांग्रेस र सत्तारुद दल नेकपाले बेग्लाबेग्लै संकल्प प्रस्ताव पेश गरेका छन्,” उहाले भन्नुभयो, “राष्ट्रियताको विषयमा सत्ता र प्रतिपक्ष हुँदैन । सबै एक भएर सीमा विवाद समाधान गर्नेतर्फ लाग्नुपर्छ ।
” उहाले लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद रहेकाले अब निष्कर्ष निकाल्ने गरी भारतसँग वार्तामा बस्नुपर्नेमा उहाले जोड दिनुभयो । लिपुलेक विवाद भारतसँग मात्रै वार्ता गरेर समाधान नहुने कोइरालाको भनाई छ । उहाले भारतसँगै चीनसँग पनि वार्ता गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीन स्वशासित तिब्बत जोड्ने सडक निर्माण गरेको छ, जसको नेपालले विरोध जनाइसकेको छ । कोइरालाले संसदबाट पारित संकल्प प्रस्तावसहित सुगौली सन्धिदेखि हालसम्मका सन्धि सम्झौताका साथै सबै किसिमका प्रमाणका साथ वार्तामा बस्नुपर्ने औंल्याउनुभयो । “
यदि सबै डकुमेन्ट नेपालसँग नभए ब्रिटिस लाइब्रेरीमा गएर भए पनि खोजेर ल्याउनुपर्छ,” नेता कोइरालाले थप्नुभयो, “प्रमाणसहित वार्तामा बस्यो भने निष्कर्षमा पुग्न सकिन्छ ।”प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले सडक बनाएको बारे थाहा छैन भन्नु आश्चर्यजनक भएको उहाको भनाइ थियो ।
कोइरालाले भन्नुभयो, “परराष्ट्रमन्त्री भारतले सडक बनाएको सरकारलाई थाहा थियो भन्नुहुन्छ, त्यही सरकारका प्रधानमन्त्री आफूलाई थाहा नभएको बताउनुहुन्छ ,यो जग हसाउने काम हो ।” कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न राजनीतिक र कूटनीतिकबाहेक अर्को विकल्प नभएको समेत उल्लेख गर्नुभयो ।