Tune to BFM 91.2|Biratnagar

सुकुम्बासीका घर–टहरा भत्काउँदा तनाव

विराटनगर, १३ फागुन । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सुकुम्बासीका घर–टहरा भत्काउन डोजर लिएर पुगेको टोली र स्थानीय बासिन्दाबीच आज घम्साघम्सी भएको छ । स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेर टहरा भत्काउन नदिएपछि केही बेर तनाव उत्पन्न भयो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेत्रृत्वमा थप मद्धतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको उत्तरतर्फ सार्वजनिक जग्गामा बनाइएका सुकुम्बासीका घरहरु डोजर लगाएर भत्काइएको छ । डीएसपी राईले महानगरको आग्रह अनुसार घर–टहरा भत्काउने कार्यमा प्रहरीले सुरक्षा प्रदान मात्रै गरेको जानकारी दिनु भयो ।

विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा ३५ वर्ष अघि बनाइएका सातवटा घर–टहरा भत्काएको छ । ती घर–टहरामा मोहम्मद नसिर, जमिल अन्सारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको परिवार बस्दै आएका थिए ।

अतिक्रमण गरेर संचरना निर्माण गरिएका सार्वजनिक जग्गा खाली गर्नका लागि सूचना प्रकासित गरेर दिएको अल्टिमेटम नमानेपछि बल प्रयोग गरेर टहरा भत्काउँदै जग्गा खाली गर्नु परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताउनु भयो ।

स्थानीय जय कामतका अनुसार डेढ कट्ठा सार्वजनिक जग्गामा सुकुम्बासी बसेका थिए । स्थानीय ६२ वर्षीया बीबी हसिना खातुनले घरबार विहीन भएका कारण अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताउनु भयो । उहाँले महानगरपालिकाले घरबार विहीन बनाएर आफ्नो परिवारलाई दुःखमाथि पीडा थपिदिएको गुनासो गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button