सुकुम्वासीलाई ३४ बटा घर हस्तान्तरण
विराटनगर,२१कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका -७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत आज ३४ बटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नु भयो ।
ग्रामथान गाउँपालिका-७ नयाँबस्तीका ३४ सुकुम्बासीहरूलाई जस्तापाता लगाएको शौचालय सहितको तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो ।सुनसरी मोरङ सिचाइ आयोजना अन्तर्गत नहरको ढिलमा बसेका सुकुमबासीहरूको घर आयोजनाले भत्काएपछि घरबार विहीन भएका उनीहरुलाई उक्त घर हस्तान्तरण गरिएको हो ।
सङ्घीय सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम, तराइ मधेश सम्बृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको तीन करोड चार लाख ४१ हजार ३४ को लागतमा उक्त घर निर्माण गरिएको हो ।
दुई वटा घर निर्माणधिन अवस्थामा रहेकोले पछि हस्तान्तरण गरिने सोही अवसरमा बताइयो । मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहिन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोवासका लागि घर निर्माण गर्ने बताउनु भयो ।
उहाँले भूमिहीन किसानलाई भूमि दिन भूमि आयोगले काम शुरु गरिसकेको जानकारी दिदै वर्तमान सरकारको कार्यकालमा सुकुम्बासी र भूमिहिन किसानलाई भूमि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री राईले निर्वाचनमा गरिएको बाचा र प्रतिवद्धता पुरा गराउन तीन तहको सरकार इमान्दर भएर कार्य गर्नुपर्नेमा जोड दिनु भयो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवन स्तर अगाडी बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुच पुर्याएर स्वरोजगार बनाउन कटिबद्ध रहेको छ भन्नु भयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताको जीवनस्तर उकास्न शीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताउनु भयो । सङ्घीय सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेको नमूना बस्तीमा उचित रेखदेख गरी वसोवास गर्न आग्रह गर्नु भयो ।
उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले वर्तमान सरकार नागरिकको समृृद्धि कायम गर्न पर्यटन पूर्वाधारमा जोड र कृषिमा यन्त्रको प्रयोगबाट रोजगारी वृद्धि गर्ने बताउनु भयो ।