Tune to BFM 91.2|Biratnagar

सुदरहरैंचा घर भएका मोरङ कारागारका बन्दीको मृत्यु

विराटनगर, १३ भदौ । जिल्ला कारागार मोरङभित्र रहेका एक युवाको अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ घर भएका कारागारका बन्दी २६ वर्षीय फूर्वासिंह तामाङको आज बिहान ४ः४५ बजेतिर मृत्यु भएको हो ।

उनी चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा पठाइएका युवा हुन् ।

अदालतमा मुद्दा विचाराधिन रहेको र मुद्दाको अन्तिम टुँगो लाग्न बाँकी रहेकै अवस्थामा कारागारका बन्दी तामाङको मृत्यु भएको हो । एक्कासि पेट दुखेर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ बजेतिर उपचारका लागि कोशी अस्पताल पुर्याइएको कारागारका जेलर सुवास लामिछाने बताउनु भयो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हाम्रा सहकर्मी किशोर बुढाथोकीले जानकारी दिनु भएको छ । ‘उपचारका लागि अस्पताल लगिए पनि कोरोनाको आशंका गर्दै चिकित्सकले तत्काल उपचार गर्न नमानेको पाइयो,’ लामिछानेले भन्नु भयो , ‘बन्दी युवामा कोरोनासँग मिल्ने लक्षण नभएको भनेर धेरै आग्रह गरेपछि मात्रै उपचार थालियो ।’

अस्पताल लैजानसाथ तत्काल उपचार पाउन सकेको भए युवाको ज्यान जानबाट जोगिन सक्ने कारागारको दाबी छ । शव परिवारका सदस्य र आफन्तलाई बुझाउने तयारी भइरहेको बताउँदै लामिछानेले शवको पोस्टमार्टम गर्न आवश्यक नदेखिएको जानकारी दिनु भयो ।

गत बुधबार कारागारमै कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको पनि मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई पनि उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

आफन्त र परिवारका सदस्यले घटना शंकास्पद रहेको तथा कारागारभित्र दिइने यातनाका कारण मृत्यु भएको बताएपछि यादवको शवको भने पोस्टमार्टम गरिएको थियो । कारागार प्रशासन र प्रहरीबाट उक्त घटनाको आआफ्नै हिसाबले अनुसन्धान भइरहेको छ ।

लागुऔषध मुद्दामा मोरङ अदालतले २०७६ फागुन ११ गते गरेको नौ महिना १९ दिन कैद र ७८ हजार रुपैयाँ जरिवानाको फैसला अनुसार यादव कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button