सुधार गृहबाट भागेका दुवै बालक पक्राउ

0
107

विराटनगर, १४ मंसिर । विराटनगरको बालसुधार गृहबाट हामफालेर पाँच दिन अघि भागेका दुई बालक पक्राउ परेका छन् । एक जनालाई मोरङको गोठगाउँबाट गयराति र एक जनालाई झापाको बिर्तामोडबाट आज बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । दुवै जनालाई पक्राउ गर्नका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली र एसपी अधिकारीले विशेष टोली परिचालन गर्नु भएको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका दुवै जना बालसुधार गृहको तेस्रो तलाको झ्याल फुटाएर गत सोमबार बिहान फरार भएका थिए । २४ घण्टा नै प्रहरीको सुरक्षा हुने गृहको तेस्रो तलाको झ्यालको ग्रील निकाल्दै पछाडिबाट हामफालेर उनीहरु फरार भएको एसपी अधिकारीले बताउनु भयो । उनीहरुलाई आफ्नै गाउँमा पुगेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको उहाँको भनाइ छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का १७ वर्षीय बालक जवरजस्ती करणी मुद्धामा र झापाको गौरादह नगरपालिका–१ का १६ वर्षीय बालक ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत मोरङको आदेशले गत असार र साउनबाट पुर्पक्षका लागि थुनामा थिए । गृहबाट बालक फरार भएको घटनाको छानबिन गर्न मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुको नेत्रृत्वमा छानबिन समिति बनाइएको थियो । फरार भएका दुवै बालक पक्राउ परेपछि छानबिनको दायरालाई थप फराकिलो बनाइएको एसपी अधिकारीले बताउनु भयो । उहाँकाअनुसार फरार भएका बालकहरु पक्राउ परिसकेकाले भाग्नुको कारण र घटनाको सबै वास्तविकता बाहिर ल्याउने गरी छानबिन गरिने छ । थुनामा रहेको अवस्थामा सुधार गृहबाट भागेकाले फरार भएका दुवै जनालाई कानुन बमोजिम थप कारबाही अघि बढाएर बालसुधार गृहकै जिम्मा लगाइने एसपी अधिकारीको भनाइ छ । यो घटनामा संलग्नता तथा कमजोरी रहेको पाइएमा ड्युटीमा रहेका प्रहरीमाथि पनि कारबाही गरिने उहाँले बताउनु भयो । बालकहरु फरार भएका बेला गृहको सुरक्षाका लागि असइ (प्रहरी सहायक निरीक्षक) टीका राईको नेत्रृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । ५० जना क्षमताको बालसुधार गृहमा अहिले एक सय ४८ जना बालकहरु छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here