सुनवर्षी मेयरकपको उपाधि बेलबारीलाई
रंगेली, ५ चैत । मोरङ्गको सुनवर्षी नगरपालिकामा सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी बेलबारी नगरपालिकाले जितेको छ ।
प्रतियोगिताको हिजो सम्पन्न फाइनल खेलमा कानेपोखरी गाउँपालिकालाई २–० गोल अन्तरले हराउदै बेलबारीले उपाधि जितेको हो । जितसंगै बेलबारीले १ लाख २१ हजार नगद पाएको छ भने उपविजेता कानेपोखरी गाउँपालिकाले नगद ५० हजारमा चित्त बुझाएको छ ।
स्थानीय विरेन्द्र माविको खेल मैदानमा सम्पन्न फाईनल खेलको पहिलो हापको ३१ औ मिनेटमा बेलबारीका कसिम राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै खेलको ३४ औ मिनेटमा बेलबारीकै मौसम सुब्वाले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।
खेलको पहिलो हाफमा २ गोलले पछी परेको कानेपोखरीले खेलको दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गरेता पनि खेलमा फर्कन नसक्दा २ गोल अन्तरले हार व्यहोर्नु परेको थियो ।
प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुर्व सञ्चारमन्त्री एव प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजाल, प्रदेशसभा सदस्य शिवनारायण सिंह, सुनवर्षी नगरपालिका प्रमुख कालिप्रसाद दास, उपप्रमुख मन्जु राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
गत फागुन १६ गते देखि सञ्चालन भएको प्रतियोगितामा मोरंगका १६ वटा स्थानीयतहको सहभागिता रहेको थियो ।