Tune to BFM 91.2|Biratnagar

सुनसरीको चारवटा गाउँपालिकामा होल्डिङ एरिया निर्माण गरिने

विराटनगर, १ जेठ । सुनसरीको चारवटा गाउँपालिकामा होल्डिङ एरिया निर्माण गर्न लागिएको छ । भारतसँग सीमा जोडिएका सिमावर्ती क्षेत्रको नेपाली भूमिमा होल्डिङ एरिया निर्माणको काम अघि बढाउने निर्णय भएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार बढी आउ–जाउ देखिएका नाकालाई लक्षित गरी होल्डिङ एरियाको काम अघि बढाइएको छ । जसका लागि स्थानीय पालिकाहरुसँग समन्वय गरिएको छ ।

प्रशासनका अनुसार सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज र गढी गाउँपालिका क्षेत्रमा होल्डिङ एरिया निर्माणको काम अघि बढाइएको हो । बर्जु गाउँपालिका क्षेत्रमा समेत आवश्यकता हेरी काम अघि बढाइने प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइने छ । प्रजिअ पौडेलका अनुसार एक गाउँपालिकाका दुई स्थानमा त्यस्ता होल्डिङ एरिया तोकिने छ ।

एक पालिकामा कम्तीमा ३ सय जनालाई तत्काल होल्ड गर्न मिल्ने गरी पूर्वाधार तयार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रशासनले सीमाबाट लुकीछिपी भैरहेको आउजाउलाई गम्भीरताका साथ लिइएको जनाएको छ । सुनसरी प्रशासनले नाकामा थप सुरक्षा सर्तकता बढाइएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button