Tune to BFM 91.2|Biratnagar

सुनसरीको धरानमा औषधि वितरण

धरान, २५ चैत । १५ दिन देखिको लकडाउनका कारण नियमित औषधि प्रयोग गर्नेहरु समस्यामा परेपछि त्यस्ता व्यक्तिलाई लक्षित गरी सुनसरीको धरानमा औषधि वितरण गरिएको छ ।

धरान उपमहानगरपालिका वडा नं. १४ मा रहेका उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, दम, क्यान्सर र मुटुका विरामीलाई लक्षित गरी औषधी वितरण गरिएको हो । धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र एक नं. प्रदेशका सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव प्रताप भट्टराईले संयुक्त रुपमा आफ्नै लगानीमा त्यस्ता व्यक्तिहरुलाई औषधि वितरण गर्नुभएको हो ।

उहाँहरुले लकडाउनका कारण औषधी किन्न बजारसम्म जान नसकेका तथा अशक्तहरुलाई पहिचान गरी २६ घर परिवारका ३३ जनालाई औषधी वितरण गर्नुभएको हो । औषधि पाएपछि सर्वसाधारण खुशी भएका छन् ।

धरान–१४ विजयपुरकी धनमाया तामाङले आफू प्रेसरको औषधी नियमित खानुपर्ने भएपनि औषधि सकिएर जान नपाएको बेला घरमै औषधी ल्याइदिएकोमा वडाध्यक्षलाई धन्यवाद दिनुभयो । घरघरमा गएर विरामीको लगत निकाली औषधि वितरण गर्दा धेरै राहत मिलेको सांसद्का स्वकीय सचिव प्रताप भट्टराईले बताउनुभयो । उहाँहरुले औषधी वितरण गर्दा स्वास्थ्यकर्मी पनि संगै लानुभएको थियो । सो क्रममा विरामीको अवस्था चेकजाच गरी औषधि वितरण गरिएको थियो । यस्तै अवस्था रहिरहे आगामी दिनमा समेत यस्ता परिवारलाई औषधि वितरण गर्ने वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button