Tune to BFM 91.2|Biratnagar

सुनसरीमा आजबाट थप कडाई

विराटनगर, ६ वैशाख । उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सुनसरीमा आजबाट थप कडाई थालिएको छ । छिमेकी जिल्लाका हैसियतले सुनसरीमा प्रशासनले सर्तकता बढाएको हो । प्रशासनले उदयपुरसँग सीमा जोडिएका सडक तथा नाकाहरुमा समेत कडाइ गर्न थालेको छ ।

ति क्षेत्रबाट हुन सक्ने आवतजावतलाई अत्यावश्यक अवस्था बाहेकको हकमा पूर्ण रुपमा रोक लगाइएको छ । कोशी ब्यारेज तथा उदयपुर जोड्ने चतरा खण्डको सडक सहितका अन्य नाकाहरुमा प्रहरीले विशेष कडाइ गरेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीमा आज बिहानैबाट लक डाउनमा कडाइ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज विहानको समयमा जिल्लाभरबाट ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ सवारी कार्वाहीमा परेका छन् । उक्त संख्या अघिल्ला दिनहरुको तुलनामा निकै कम हो ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म जिल्लाभरको लक डाउनमा पूर्ण रुपले कडाइ गरिएको छ । सम्भावित भिडभाडलाई मध्यनजर गर्दै औषधी पसल बाहेक सबै खाले सेवा तत्कालका लागि बन्द गरिएको उहाँले बताउनुभयो ।

सुनसरीमा अहिले सम्म ४ सय ७२ जनाको र्यापिड टेस्ट मार्फत स्वास्थ्य जाँच गरिएको छ । सो क्रममा दक्षिणी भेगका एक युवाको रिपोर्ट मात्रै आउन बाँकी छ । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यसैबिच सुनसरी प्रशासनले राहत वितरणमा हुने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर मात्रै राहत वितरण गर्न सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ । प्रशासनले मस्जिदमा बस्नेहरु सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । ८१ वटा मस्जिद रहेको सुनसरीमा कोहीपनि आश्रय लिई बसेको भन्ने जानकारीमा नरहेको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button