Tune to BFM 91.2|Biratnagar

सुन्दरहरैँचामा भएको दुर्घटनामा १५ दिने शिशुको मृत्यु

विराटनगर, १० मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा गय राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा परेर १५ दिनका शिशुको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–६ दुलारीमा भएको दुर्घटनामा २५ वर्षीया कल्पना यादवका १५ दिने छोरा देव यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो ।

उहाँका अनुसार विराटनगर महानगरपालिका–१२ घर भएकी सुत्केरी अवस्थाकी कल्पना केही समयदेखि सुन्दरहरैँचा–४ मा डेरा बस्दै आएको खुलेको छ । रातको समयमा अचानक छोरो बिरामी परेपछि उपचारका लागि लिएर जाने क्रममा पैदलनै सडक पार गर्दैगर्दा कल्पनालाई को ३६ प ४४२४ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिएको ढकालले बताउनु भयो । मोटरसाइकलले ठक्कर दिँदा आमाले च्यापेका शिशु भुइँमा बजारिएका थिए ।

प्रनि ढकालका अनुसार दुर्घटनामा परेर आमा र छोरानै घाइते भएपछि तत्काल उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । तर छोराको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

धरानमै उपचारका क्रममा शिशुको आज बिहान १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट कल्पनाको पनि खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरीले मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का विनोद चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button