Tune to BFM 91.2|Biratnagar

सुन्दरहरैँचामा युवाको शंकास्पद मृत्यु

विराटनगर, ५ चैत । मोरङको सुन्दरहरैँचामा शंकास्पद मृत्यु भएको अवस्थामा एक युवाको शव आज बिहान भेटिएको छ । सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलाको पानीभित्र भेटिएको हो । उनको शव खोलाको पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले सुजरको बिहान ६ः३० बजेतिर प्रहरीलाई खवर गरेका हुन् ।

भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिनु भयो । मृत फेला परेका सुरजले जिन्स प्वाइन्ट, टी–सर्ट र चप्पल लगाएका छन् । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ । पुलमा लडिरहेको अवस्थामा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेको छ । घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाउँदै शव पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ । डीएसपी राईका अनुसार मोटरसाइकलमा पश्चिमतर्फ जाँदै गर्दा दुर्घटना भएजस्तो देखिन्छ ।

तर मोटरसाइकलका धनी २२ वर्षीय राजेश चौधरी भने फरार रहेका कारण घटना यकिन हुन नसकेको प्रहरीले जनाएको छ । फरार रहेका राजेशलाई प्रहरीले खोजिरहेको छ । राईले राजेशलाई नियन्त्रणमा लिइसकेपछि मृत्युको कारण यकिन हुने बताउनु भयो । आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हिजो दिउँसो ४ बजेतिर भेट भएपछि सुरज र राजेश एउटै मोटरसाइकलमा हिँडेका थिए ।

मोटरसाइकलमा सँगै निस्किएका साथीमध्ये सुरज मृत भेटिएका हुन् भने राजेश सम्पर्कविहीन छन् । प्रहरीले मोटरसाइकल फरार रहेका राजेशले चलाएको हुनसक्ने आशंका छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । डीएसपी राईका अनुसार मोटरसाइकलमा यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा खसेर डुबेपछि उठेर बाहिर निस्कन नसक्दा सुरजको त्यहीँ मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्युको अरु नै कारण हुनसक्ने सम्भावना रहेकाले घटनाको गम्भीर ढङ्गले अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button