Tune to BFM 91.2|Biratnagar

सुन तस्करी अभियुक्त हरिशरण खड्कालाई थुनामा राख्न आदेश

विराटनगर, ३० असार । जिल्ला अदालत मोरङले सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अभियुक्त हरिशरण खड्कालाई थुनामा राख्न आज आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी र हत्या प्रकरणमा मुछिएका उनलाई तत्काल प्राप्त प्रमाणका आधारमा पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका खड्कालाई प्रहरीले आज अदालतमा बुझाएको थियो । बुझाउने साथ अदालतले उनको बयान लिएको थियो । थुनछेक बहस सकिएपछि अभियुक्त खड्कालाई पूर्पक्षका लागि थुनामा राख्न इजलासबाट आदेश प्राप्त भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताउनु भयो ।

सुन तस्करीमा जोडिएका खड्कालाई प्रहरीले हिजो नै अदालतमा बुझाएको थियो । तर कोरोना भाइरसको संक्रमण भएनभएको बारेमा प्रहरीले आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अदालतले तत्काल काम कारबाही रोकेर उनलाई फिर्ता पठायो ।

पीसीआर विधिबाट परीक्षण गरेर रिपोर्टसहित पेस गर्न प्रहरीलाई आदेश दिँदै उनलाई अदालतले फिर्ता पठाएको हो ।

प्रहरीले उनको हिजो नै पीसीआर विधिबाट परीक्षण गरेको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार पुनः अदालतमा पेस गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button