Tune to BFM 91.2|Biratnagar

सुरक्षाकर्मी महामारी केन्द्रित, मोरङमा मौलायो तस्करी

विराटनगर, ५ जेठ । सुरक्षाकर्मी कोरोना भाइरसको महामारी नियन्त्रणमा सक्रिय हुनपर्ने अवस्था आएपछि मोरङको सिमावर्ती नाकाबाट तस्करी मौलाइएको पाइएको छ । कोरोना महामारीले मुलुकको अवस्था जर्जर बनाउँदै लगेका बेला भन्सार छली गरेर सामानको अवैध तस्करी गर्ने समूह सक्रिय भएको हो । सुरक्षाकर्मी कोरोना नियन्त्रणमा सक्रिय हुँदा त्यसको फाइदा नेपालबाट भारत र भारतबाट नेपालतिर सामानको तस्करी गर्ने गिरोहले लिइरहेको छ । भारतको जोगवनीदेखि ल्याएको एक लाख ५६ हजार रुपैयाँ बराबरको तस्करीको कपडासहित विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले हिजो ३८ वर्षीय सुधीरकुमार महतोलाई पक्राउ गरेको छ ।

कपडा लोड गरिएको को २ ह ७८७ र को २ ह ४९२४ नम्बरको अटो टेम्पोसहित पक्राउ गरेर प्रहरीले कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझायो । जोगवनीदेखि भन्सार छली गरेर अवैध रुपमा नेपालतिर ल्याइएको एक सय ६० किलो चिनी प्रहरीले विराटनगर–१७ मटेरुवाबाट हिजो बरामद गर्यो । मटेरुवाबाटै जेठ १ गते भारतबाट ल्याइएको चिनी, काजु र जिरा गरेर दुई लाख २७ हजार रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरेको थियो । सोही दिन विराटनगरको दरैयाबाटै प्रहरीले नेपालदेखि भारततिर लैजान ठिक्क पारिएको चना, मटर र मरिच गरेर बरामद गरेको थियो ।

सामान बरामद भएका र तस्करीमा संलग्न पक्राउ परेका घटनाले पनि अवैध धन्दा सीमा क्षेत्रमा मौलाएर गएको पुष्टि हुन्छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सुरक्षाकर्मीको उपस्थिति बढाएर दुई देशीबीचको आवतजावत शून्यमा झार्न सीमा क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा राखिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button