Tune to BFM 91.2|Biratnagar

सुरक्षा गार्डको खुकुरी खोसेर गाउँपालिका अध्यक्षमाथि प्रहार

विराटनगर, २ साउन । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज बिहान खुकुरी प्रहार भएको छ । पटके करको विषयलाई लिएर विवाद हुँदा कार्कीमाथि ११ः४५ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने केराबारी–१० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको अलग–अलग टोली परिचालन गरिएको थियो । ठकुरीले गाउँपालिका कार्यालयका सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीमाथि प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केराबारी–१० स्थित गाउँपालिकाको कार्यालयमा आइपुग्ने वित्तिकै सुरुमा चक्कु प्रहार गरेका ठकुरीले त्यस लगत्तै सुरक्षा गार्डको खुकुरी खोसेर हानेको प्रहरीले जनाएको छ । चक्कु उनले कहाँबाट ल्याएका थिए भन्ने खुल्न बाँकी छ ।

घटनामा प्रयोग गरिएको खुकुरी र चक्कु प्रहारीले नियन्त्रणमा लिएको छ । कार्कीको टाउकोमा दुई ठाउँ तथा हात र पेटमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर ल्याइएको छ । घटनामा संलग्न ठकुरीले २०७६÷०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए ।

साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button