Tune to BFM 91.2|Biratnagar

सुस्त मनस्थितिकी बालिकामाथि बलात्कार

विराटनगर, १ चैत । मोरङको रतुवामाईमा सुस्तमनस्थितिकी एक बालिकामाथि बलात्कार गरेको घटनामा संलग्न एक वृद्ध पुरुष पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियाले ८ वर्षीया बालिकामाथि बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँका अनुसार पीडित बालिकाका अभिभावकको किटानी जाहेरीका आधारमा मुखियालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मुखियाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिनु भयो । बोली नआउने सुस्तमनस्थितिकी बालिका आफ्ना कुरा कसैलाई पनि बताउन सक्ने अवस्थामा छैनन् । डीएसपी राईका अनुसार बालिका आफ्ना ६ र ५ वर्षीया बाहिनीसहित छिमेकी एक बालिकासँग घाँस काट्न मकैबारीमा गएकी थिइन् ।

घाँस काटिसकेर तीन बालिका रुख चढेर खेलिरहेका थिए । ८ वर्षीया बालिका भने भुइँमै थिइन् । त्यही क्रममा बाँस काट्न भन्दै मकैबारी छेउमा रहेको बाँसघारीमा मुखिया पनि आइपुगेको प्रहरीले जनाएको छ । उनले भुइँमा रहेकी बालिकालाई त्यतिबेलै बाँसझ्याङभित्र जबरजस्ती लगेर बलात्कार गरेको बहिनीहरुले देखेको डीएसपी राईले बताए ।

घटना गत शुक्रबार दिउँसो ३ः१५ बजेतिरको हो । बहिनीहरुले साँझ घरमा पुगेर आमालाई सुनाएपछि सुस्तमनस्थितिकी बालिकामाथि भएको बलात्कार घटना बाहिर आएको हो । बलात्कारबाट यौनाङ्गमा चोट लागेकी बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका वृद्धले पनि घटनामा संलग्नता स्वीकार गरिसकेको जानकारी डीएसपी राईले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button