Tune to BFM 91.2|Biratnagar

सूर्यग्रहण अपराह्न २ बजेर २३ मिनेटमा मोक्ष प्राप्त

विराटनगर ७ असार । आज बिहान १० बजेर ५४ मिनेटदेखि लागेको खण्डग्रास सूर्यग्रहणले अपराह्न २ बजेर २३ मिनेटमा मोक्ष प्राप्त गरेको छ ।

काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श) भएको बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्यग्रहण देखिएको थियो । त्यसैगरी काठमाडौँ र जनकपुरबाट ८८ प्रतिशत, सूर्यलाई ग्रहणले ढाकेको देखिएको थियो ।

खगोलीय मान्यता अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेर चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्यग्रहण लाग्छ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा वलयाकारको हुनसक्छ ।

पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्षपछि मात्र लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button