सेनालाई व्यवसायिक बनाइन्छ : पोखरेल

0
143

विराटनगर, २४ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई उच्च व्यवसायिक बनाइने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै पोखरेलले नेपाली सेनाको लोकतान्त्रिकरण गर्नुपर्ने भनाइहरु सार्वजनिक भइरहेको सन्दर्भमा उहाँले सेनालाई दक्ष र व्यवसायिक बनाउनु पर्ने भन्दै लोकतान्त्रिक बनाउने भन्ने कुरामा पूर्ण असहमति रहने बताउनुभयो । ‘नेपाली सेनालाई पूर्ण व्यवसायिक बनाइनु पर्छ,’ उपप्रधान मन्त्री पोखरेलले भन्नुभयो ‘यो लोकतान्त्रिक बनाउनु पर्छ भनेर राजनीतिक प्रभाव पार्ने कुरामा मेरो असहमति छ ।’मन्त्री पोखरेलले नेपाली सेनाको संख्या आवश्यकता अनुसार निर्धारण हुने भएकोले संख्या घटाउने र बढाउने विषयमा धेरै चर्चा आवश्यक नरहेको उहाँले बताउनुभयो । पछिल्लो समय मुलुकमा अवैध हतियारको प्रयोग तथा राजनीतिक आवरणमा हतियार संकलन भइरहेको पाइएको भन्दै उहाँले संविधान विपरितका गतिविधि मान्य हुन नसक्ने बताउनुभयो । ‘अपराधिक र आतंककारी गतिविधि संविधान विपरित हो’ मन्त्री पोखरेलले भन्नुभयो ‘नेपाली जनता आफैंले बनाएको संविधान विपरित जाने कार्य अमान्य छ ।’ उहाँले शान्तिपूर्ण राजनीतिकालागि सबै बिचारहरुलाई स्थान हुने भन्दै संविधान विपरितका गतिविधि सरकारले नियन्त्रण गर्ने पनि बताउनुभयो । वर्तमान सरकार बलियो हैसियतमा रहेकोले कुनै दलले समर्थन फिर्ता लिने कुराले सरकारको स्थायित्वमा फरक नपर्ने उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here