सेवा आयोगबाट बिदाई भएपछि होटलमा अन्तवार्ता

0
298

विराटनगर, ३ भदौ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विश्वविद्यालयबाट बिदाई भएपछि प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि परीक्षा लिएको पाइएको छ । श्रेष्ठको ४ वर्षे कार्यकाल भदौं ५ गते सकिँदैछ । विश्वविद्यालयबाट बिदाई भएपछि काठमाडौं पुग्नु भएका श्रेष्ठले कार्यकाल सकिँन तीनदिन बाँकी रहेको अवस्थामा सोमबार प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गर्नु भएको छ । विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापनमा प्राध्यापकतर्फ डा. जीवन ढकाल र सहप्राध्यापकतर्फ शैलेन्द्र शिवाकोटीको नाम अन्तर्वार्ताका लागि छनोट भएको थियो । हिजो दुईजनालाई काठमाडौंको होटल एम्बेस्टरमा अन्तर्वार्ता लिइएको हो । पूर्वाञ्चल विश्वविद्यालय स्रोतका अनुसार अन्तर्वार्ता भएपनि विश्वविद्यालयलाइ जानकारी गराइएको छैन् । सेवा आयोगको सिफारिस पूवि कार्यकारी परिषदले सदर गरेमात्र प्राध्यापक र सहप्राध्यापकले हाजिरी गर्न पाउनेछन् । विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न पदकालागि विज्ञापन आह्वान गरेको थियो । तर विद्यार्थी नभएको विषयमा पनि विज्ञापन गरिएपछि विवाद सुरू भएको थियो । विवादकै क्रममा व्यवस्थापनतर्फको प्राध्यापकमा जीवन ढकाल र व्यवस्थापन तर्फको सहप्राध्यापकमा शैलेन्द्र शिवाकोटीको नाम मात्र अन्तर्वार्ताका लागि छनोट भएको थियो । छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै चार विद्यार्थी संगठनले विश्वविद्यालय सेवा आयोगको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । पटक–पटक अन्तर्वार्ताको समय तोकिएपनि विद्यार्थी संगठनहरूको अवरोधका कारण आयोगले अन्तर्वार्ता गरेको थिएन । तर, आयोगका अध्यक्ष श्रेष्ठले विश्वविद्यालयबाट औपचारिक रूपमा बिदाई हुन तीन दिनअघि सोमबार होटलमा अन्तर्वार्ता लिनु भएको हो । साउन अन्तिम साता उहाँ विश्वविद्यालयबाट विदा हुनु भएको थियो । परीक्षाका लागि काठमाडौं पुग्नु भएका डा जीवन ढकालले नियुक्तिको विषयमा आधिकारिक जानकारी नआएको बताउनुभयो । अन्तर्वार्ताका लागि काठमाडौं पुगेपनि नियुक्ति भएको विषयमा आधिकारिक जानकारी नआएको उहाँले बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक बोधहरि आचार्यले होटलमा अन्तर्वार्ता लिनु गैरजिम्मेवारीपन भएको बताउनुभयो । केन्द्रीय कार्यालय सेवा आयोगमा तालाबन्दी भएको अवस्थामा होटलमा अन्तर्वार्ता लिनु गलत भएको उहाँको भनाइ छ । होटलमा अन्तर्वार्ता लिएको विषयमा कानूनी उपचार खोज्ने उहाँले बताउनुभयो । विद्यार्थी संगठनहरूले होटलमा गरिएको अन्तर्वार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई विश्वविद्यालयमा हाजिरी गर्न नदिने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सुधारको अभियान सञ्चालन गरिरहेका नेकपा केन्द्रिय सदस्य महेश रेग्मीले होटलमा अन्तर्वार्ता गरिनु आपत्तिजनक भएको बताउनुभयो । यसैवीच पूर्वान्चल विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा.डा.खगेन्द्र आचार्यको कार्यकाल समाप्त भएको दुई महिना पछि सो पदमा विश्वविद्यालय प्रा.डा. विजुकुमार थपलिया नियुक्त हुनु भएको छ । थपलिया विगत २० वर्ष देखि तत्कालीन ब्यवस्थापन क्याम्पस र हाल पुसोम कलेजमा कार्यरत हुनुहुन्छ । उहाँ यस अघि सोही संकायद्वारा संचालित एम.फिल. तथा पिएचडी कार्यक्रमका निर्देशक र क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर र नर्वेको मोल्डे युनिभर्सिटीबाट पिएचडी गर्नु भएको छ भने यसअघि पनि डीनको पदमा कार्य सम्पादन गरिसक्नु भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here