सोलुखुम्बुमा झाडापखाला तथा कमलपित्त का बिरामी बढे
विराटनगर, २० वैशाख । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा सो रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिनुभयो ।
वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चारजनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।
‘साविक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ,’ अध्यक्ष बाँस्तोलाले भन्नुभयोे, ‘हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको संख्या बढिरहेको पाइयो ।’ एक हप्तादेखि बिरामीको संख्या अप्रत्यासितरुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली त्यहाँ पुगेको छ ।
सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो । जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
सो टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ ।
तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।