Tune to BFM 91.2|Biratnagar

स्कुल बस दुर्घटना हुँदा सह–चालकको मृत्यु, पाँच विद्यार्थी घाइते

विराटनगर, ९ माघ । मोरङको धनपालथान गाउँपालिका–६ रामचोकमा आज बिहान स्कुल बस दुर्घटना हुँदा सह–चालकको घटनास्थलमै मृत्यु भएको छ । रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको विराटनगरस्थित लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनु भयो । दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जानकारी दाहालले दिनु भयो । उहाँकाअनुसार सितलहरसँगै लागेको बाक्लो हुस्सु लागेको समयमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा बस सडकबाट पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन् । धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीय लुना गौतम घाइते भएका छन् । रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ । प्रहरी निरीक्षक दाहालका अनुसार बसमा १२ जना विद्यार्थी सवार थिए । बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालक खड्काले हुस्सु लागेको बेला टाढासम्म देख्न नसक्दा विपरित दिशाबाट एक्कासि गाडी आएको र त्यसलाई साइड दिने क्रममा आफूले चलाएको बस पल्टिएको प्रहरीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button