Tune to BFM 91.2|Biratnagar

११ वटा स्थानीय तहलाई प्रहरी भ्यान र वारुणयन्त्र हस्तान्तरण

विराटनगर, २९ असोज । १ नम्बर प्रदेश सरकारले ११ वटा स्थानीय तहलाई प्रहरी भ्यान र वरुणयन्त्र (दमकल) हस्तान्त्रण गरेको छ ।

पाँच करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको प्रहरी भ्यान बिहीबार हस्तान्तरण गरेको हो । प्रदेश सरकारले प्रदेशका १४ जिल्लाका एक–एक वटा स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ ।

सो केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण भएको हो । केन्द्रका लागि एम्बुलेन्स पनि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।

स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिलाइ मुख्यमन्त्री शेरधन राईले आज दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गर्नु भयो । १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनु भयो ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र एकीकृत शान्ति सुरक्षा, विपद् र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यका सञ्चालन भएको उहाँले बताउनु भयो । पालिकाका प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ ।

केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत पालिकाले व्यहोर्ने छ । जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । प्रदेश सरकारले आज सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिकालाई वरुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाई पनि हस्तान्तरण गरेको छ ।

तीन जिल्लाका तीनवटा पालिकालाई केही समयपछि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button