स्वास्थ्यमन्त्री ढकालद्धारा नागरिक केयर सेन्टरको अनुगमन
विराटनगर, २७ कात्तिक । विराटनगरमा निजी क्षेत्रको सक्रियतामा निर्माण भईरहेको नागरिक केयर सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनुगमन गर्नुभएको छ ।
कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको १ सय वेडको नागरिक केयर सेन्टरको मन्त्री ढकालले अनुगमन गर्नुभएको हो । उहाँले विराटनगरमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो ।
मन्त्री ढकालले संक्रमितको उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवस्यकता देखिएकाले सरकारको प्राथमिकता पनि यसैमा रहेको बताउनुभयो । उहाँले सरकारले ३ हजार ५ सय वेड थप गर्ने तयारी गरेको बताउनुभयो । मन्त्री ढकालले भन्नुभयो,‘ २ हजार उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा थप गरिने छ ।’ कोरोना संक्रमितको उपचारमा समस्या नहोस् भनेर सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको उहाँले बताउनुभयो ।
सरकारले कोरोना परीक्षण र उपचार निशुल्क गर्ने बताउँदै उहाँले खोपका लागि आवस्यक तयारी भईरहेको बताउनुभयो । खोप परीक्षण सफल हुनसाथ आयातका लागि कानुनी समस्या नहोस भनेर अध्यादेश तयार गरिएको मन्त्री ढकालले बताउनुभयो ।
नागरिक केयर सेन्टरको अनुगमन कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, नागरिक केयर सेन्टरका संयोजक पवन सारडा लगायतको उपस्थिति रहेको थियो । निजी क्षेत्रको १ करोड ५० लाख र प्रदेश सरकारको २ करोडको लागतमा निर्माण भईरहेको छ ।
मन्त्री ढकालले यसअघि कोशी अस्पताल विराटनगरको पनि अनुगमन गर्नुभएको थियो ।