Tune to BFM 91.2|Biratnagar

हतियारको कारोबार गर्ने व्यक्ति पक्राउ

विराटनगर, २० मंसिर । मोरङको सुनवर्षी नगरपालिका–५ बाट प्रहरीले हतियारको कारोबार गर्ने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । स्थानीय ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

सुनवर्षीको झुँगी चोकबाट उनलाई हिजो दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ । भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो ।

‘भागलपुरतिरबाट लुकाईछिपाई हतियार नेपाल ल्याउने गरेको पाइयो,’ उहाँले भन्नु भयो , ‘नेपाल भित्राएपछि विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ तर नेपालमा उनीबाट हतियार किन्नेको भने अझैसम्म पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एउटा मदिरा पसलमा मदिरा सेवनका लागि बसेका बेला मण्डलले कम्मरमा भिरेको अवस्थामा पेस्तोल देखिएको खड्काको भनाइ छ । कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेपछि पक्राउ गर्न सकिएको उहाँले बताउनु भयो ।

मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button