Tune to BFM 91.2|Biratnagar

हत्या गरेर फ्यालेको अवस्थामा युवाको शव भेटियो

विराटनगर, २५ वैशाख । मोरङको बेलबारी नगरपालिका–७ मा हत्या गरेर फ्यालेको अवस्थामा आज बिहान एक युवाको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

हिजो साँझ निस्किएका युवा घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । उनको शव मर्निङवाक गर्नेहरुले बेलबारी–७ स्थित नहरको डिलमा बिहीबार बिहान देखेपछि प्रहरीलाई खवर गरेको डीएसपी राईले बताउनु भयो ।

प्रहरीका अनुसार युवाको खुट्टा, भुँडी लगायत शरीरका विभिन्न भागमा घिसारेको चोट छ । घिसारेर उनको हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । स्थानीय बासिन्दालाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार साथीहरुसँग मादक पदार्थ सेवन (मापसे) गरेर गिरी रातको समयमा होहल्ला गर्दै हिँडिरहेका थिए ।

कुनै ठाउँमा सँगै बसेर मापसे गर्ने साथीहरुले नै हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नौ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान टुँगिएपछि घटनाको वास्तविकता बाहिर आउने डीएसपी राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button