Tune to BFM 91.2|Biratnagar

हरिणको सिङ र बन्दुकसहित बेलबारीबाट एक जना पक्राउ

विराटनगर, २१ भदौ । प्रहरीले वन्यजन्तु हरिणको सिङ र भरुवा बन्दुकसहित बेलबारीबाट हिजोसाँझ एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बूलाई पक्राउ गरिएको हो ।

लिम्बूले आफ्नै घरमा कारखाना सञ्चालन गरेर भरुवा बन्दुक बनाउँदै बिक्री गर्ने गरेको दाबी प्रहरीको छ । त्यस्तै हरिणको ५ वटा सिङ नै घरबाट बरामद भएपछि वन्यजन्तुका अंगको अवैध कारोबार एवं तस्करीमा पनि उनको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । डीएसपी श्रेष्ठका अनुसार विशेष सूचनाका आधारमा लिम्बूको घरमा छापा हान्न प्रहरी पुगेको हो । त्यस क्रममा लोड गरिएको भरुवा बन्दुकसहित बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काजो, बसिला, राँबो, हथौडा, आरा लगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद भएको उहाँले बताउनु भयो ।

वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित पक्राउ परेका लिम्बू आँफैले बन्दुक बनाउने तथा जंगली जनावरको चोरी सिकारी गर्ने समूहलाई बेच्ने गरेको प्रहरी दाबी छ । जंगली जनावरको चोरी सिकारी गर्ने समूहसँग सम्पर्क बढाउँदै लिम्बूले वन्यजन्तुका अंगको पनि अवैध कारोबार गरिरहेको श्रेष्ठले बताउनु भयो । प्रहरीले लिम्बूविरुद्ध हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै वन्यजन्तुका अंगको कारोबारका विषयमा पनि विस्तृतमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बूले एउटा बन्दुक कति रूपैयाँमा बिक्री गर्थेभन्ने खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button