Tune to BFM 91.2|Biratnagar

हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

विराटनगर, २३ असोज । हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो ।

विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन् । भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिनु भएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त हुनुभएको थियो ।

समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यङ्ग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेलले बताउनुभयो । पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हाँस्यव्यङ्ग्य क्षेत्र खाली भएको प्रतिक्रिया दिनुभयो ।

सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको आज विराटनगर होटखोलास्थित श्मशान हाटमा अन्त्येष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button