Tune to BFM 91.2|Biratnagar

१३ जनाको रिपोर्ट नेगेटिभ आयो

विराटनगर, २३ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १३ जनाको पुन ः स्वाव परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

गत वैशाख ५ गते संक्रमित पुष्टि भएका १२ जना र ६ गते संक्रमित पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरिएकाहरुको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले पहिलो चरणमा संक्रमित भएकाहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी आएको बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने संक्रमित भेटिएका १३ जनाको आइतबार गरिएको दोश्रो पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हो ।

स्वाब परीक्षण गरेको कोशी अस्पतालले भने त्यसबारे औपचारिक जानकारी दिएको छैन । अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा.संगिता मिश्राले थप संक्रमितको पनि पुनः स्वाब संकलन गरिएको बताउँदै आजसम्म सबैको रिपोर्ट आउने जानकारी दिनुभएको छ ।

उनीहरुको अब तेस्रो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा कोरोनामुक्त भएको स्पष्ट हुने र उनीहरुलाई डिस्चार्ज गरिनेछ । कोरोना संक्रमितको १४ दिनमा पिसिआर परीक्षण गर्ने गरिन्छ । नुरी मस्जिदमा बस्ने १६ जनामध्ये १२ भारतीय र एक नेपालीमा पहिलो चरणमा कोरोना देखिएको थियो । मस्जिदका १३ जनामा संक्रमण देखिएपछि गरिएको पुनः परीक्षणमा मस्जिदमा बस्ने थप ३ नेपाली पनि संक्रमित पाइएका थिए भने आसपासको बस्तीका थप १२ जनामा कोरोना देखिएको थियो ।

उनीहरु सबैको कोरोना उपचार केन्द्रमै उपचार भइहरको छ । भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । कोरोना संक्रमणको केन्द्र भुल्के बनेपछि उदयपुरमा ६ सय ६९ जनाको स्वाब सङ्कलन गरि परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

यसैबीच २८ जना कोरोना संक्रमित भेटिएको भुल्केको मुस्लिम टोलमा पुनः कोरोना भाइरस परीक्षण गरिने भएको छ । मुस्लिम टोलमा संक्रमणको जोखिम रहेकाले पून परीक्षण गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button