Tune to BFM 91.2|Biratnagar

१५ जना महिला श्रमिकहरु सम्मानित

विराटनगर, २५ फागुन । प्रदेश एक सरकारले १५ जना महिला श्रमिकहरुलाई सम्मान गरेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले ११० औं अन्तरष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो ।

विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा आज आयोजित कार्यक्रमकाबीच महिला श्रमिकहरुलाई नगद ५ हजार, दोसल्ला र फूलमालासहित सम्मान गरिएको हो । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल, सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेर लगायतले महिला श्रमिकहरुलाई सम्मान गर्नुभयो ।

कार्यक्रमकाबीच प्रदेश एकका विभिन्न जिल्लामा लामो समयदेखि सरसफाई, उद्योग, निर्माण, स्वास्थ्य, चिया र घरेलु कामदारका क्षेत्रमा कार्यरत महिला श्रमिकहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नेपाल महिलामैत्री मुलुकको रुपमा विश्वमा चिनिएको बताउनुभयो ।

उहाँले मुलुकको विभिन्न कार्यकारी निकायसहित स्थानीय तहहरुमा महिलाहरुको अभूतपूर्व सहभागिता रहेको बताउनुहुँदै नेपाल महिलामैत्री मुलुक रहेको कुरा शिर ठाडो पारेर भन्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपाली महिलाहरु अग्रस्थानमा रहेको बताउनुभयो ।

उहाँले संबिधानले महिलाहरुलाई समानताको अधिकार दिएको बताउनुहुँदै ब्यवहारिक रुपमा देखिएका चुनौतीहरु विस्तारै समाधान हुँदै जाने विचार व्यक्त गर्नुभयो । सो अवसरमा बोल्ने ट्रेड युनियन महासंघकी प्रदेश महिला अध्यक्ष सिता सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसकी सुनिता घिमिरे, जीफन्टकी प्रदेश अध्यक्ष निलम ढुंगेललगायतले अझै पनि महिला र पुरुष श्रमिकको समान ज्याला हुन नसकेको बताउनुभयो ।

उहाँहरुले संविधानले समानताको अधिकार दिए पनि व्यवहारिकरुपमा कार्यान्वयन हुन नसकेको गुनासोसमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयले पछिल्लो समय देखिएको कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा सहभागी मुख्यमन्त्री, उपसभामुख र मन्त्रीहरुले सम्मानित ब्यक्तिहरुलाई सम्मान गर्नुअघि साबुन पानीले हात धुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button