Tune to BFM 91.2|Biratnagar

२० किलो गाँजासहित टेम्पो चालक पक्राउ

विराटनगर, १३ पुस । सशस्त्र प्रहरीले मोरङको जहदाबाट २० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । अटो टेम्पोमा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा जहदा गाउँपालिका–१ भुटाहाबाट ठूलो परिणामको लागुऔषध गाँजासहित सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३१ वर्षीय गणेश राई पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार उक्त गाँजा को २ ह ४२४१ नम्बरको अटो टेम्पोको सिट मुनी फेला परेको हो । सिट मुनी ‘फल्स बटन’ बनाएर लुकाईछिपाई गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको उहाँले बताउनु भयो । टेम्पोमा गाँजासहित पक्राउ परेका राईलाई आवश्यक कारवाही अघि बढाउनका लागि हिजो साँझ इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले उनीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ । एसपी पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानबाट नेपालको बाटो हुँदै गाँजा भारततिर लैजान खोजिएको पाइएको छ । तत्काल सशस्त्र प्रहरीले रोक्न सकेका कारण भारततर्फ लैजाने योजना भने असफल भएको उहाँको भनाइ छ । पक्राउ परेका राई अटो टेम्पोका चालक हुन् । चालक बनेर उनी गाँजा ओसारपसारमा संलग्न रहने गरेको पाइएको एसपी पौडेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button