३ सय २७ जना सुनसरीबाट पक्राउ
विराटनगर ३० चैत । लक डाउनमा अटेर गरी घर बाहिर निस्कने ३ सय २७ जना सुनसरीबाट पक्राउ परेका छन् ।
सुनसरी प्रहरीले लकडाउनमा कडाई थालेसँगै घर बाहिर निस्कनेहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले सदरमुकाम इनरुवाबाट १८ जनालाई पक्राउ गरेको छ । अन्यलाई जिल्लाका विभिन्न बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मनिङ वाक निस्कने देखि बजार घुम्न हिंडेका र सागसब्जी तथा औषधी खरीद गर्न भन्दै बजार निस्केकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अत्यावश्क अवस्थामा मात्रै घर बाहिर निस्कन भनेपनि वहानाबाजी गर्ने क्रम बढेकाले चेकजाँच सँगै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन थालिएको जनाएको छ ।
पक्राउ गरिएकाहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई साँझ मात्र छाड्ने गरेको छ । पक्राउ गरिएकाहरुलाई कोरोना सचेतना कक्षा लिएर दिनभर राख्ने गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक जयदेव माझीले बताउनुभयो ।
प्रहरीले ७१ वटा सवारीका साधन समेत सुनसरीबाट नियन्त्रणमा लिएको छ ।