प्रदेश सरकारको सहयोगमा ५८ वटा क्यामेरा जडान

0
134

विराटनगर, ३० भदौ । प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर मोरङमा सञ्चालनमा ल्याइएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजनाअनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो । प्रदेश सरकारले बिनियोजन गरेको एक करोड २० रुपैयाँ मध्ये एक करोड १३ लाख ५८ हजार पाँच सय नौ रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । उहाँकाअनुसार कोसी राजमार्ग अन्तर्गत विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी खोलासम्म र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी पूर्वको बूढी खोलादेखि उर्लाबारीसम्म ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएर सीसी क्यामेरा जडान गरिएको छ । कोसी राजमार्गमा ३२ वटा, तथा पूर्व–पश्चिम राजमार्गमा २६ वटा नयाँ सीसी क्यामेरा सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीबाट सीसी क्यामेराको निगरानी हुने छ । सबै सीसी क्यामेरामा भिडियो फुटेज तीन महिनासम्मको स्टोरेज क्षमता छ । प्रदेश सरकारले जडान गरेको ५८ वटा नयाँसहित मोरङमा हालसम्म सडक र सार्वजनिक स्थलमा जडान भएर सञ्चालनमा ल्याइएका सीसी क्यामेराको संख्या एक सय ५४ पुगेको छ । पछिल्लो समय अपराधको शैली फेरिएसँगै प्रहरीले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन राखिएको सीसी क्यामेराले ठूलो सहयोग मिल्ने प्रहरी अधिकारीको भनाइ छ । प्रदेश सरकारको सहयोगमा जडान गरिएका सीसी क्यामेरा सुरक्षा प्रणालीको शुभारम्भ आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नु भयो । उहाँले सबै प्रकारको अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्न सीसी क्यामेराले प्रहरीलाई मद्धत पुग्ने बताउनु भयो । भरपर्दो सुरक्षा प्रणाली अवलम्बन गरेर सुशासन कायम गर्दै अगाडि बढ्न प्रदेश सरकार गम्भीर भएर लागेको उहाँको भनाइ छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो र प्रविधि मैत्री बनाएर लैजान प्रदेश सरकारले गरेको काम अपराध नियन्त्रण र अनुसन्धानका सवालमा निक्कै प्रभावकारी एवं महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले काम गर्ने क्रममा मान्छेले जस्ता विभिन्न त्रुटिहरु नहुने भएकाले प्रविधिलाई साथ लिएर गरिएका अनुसन्धान निक्कै प्रभावकारी र विवादरहित हुने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here