युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो युद्ध इजरायलको इतिहासकै लामो र खर्चिलो बनेको छ । पछिल्लो एक वर्षमा इजरायलले हजारौँ सुरक्षाकर्मी गाजा र दक्षिण लेबनानमा पठाएको छ । हजारौँको सङ्ख्यामा हवाई आक्रमण गरेको छ ।
आफूमाथि भएका क्षेप्यास्त्र र ‘ड्रोन’ हमलालाई निस्तेज पार्न हवाई प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने क्रममा उसले दशौँ लाख डलर खर्च गरेको ठानिएको बीबीसीले उल्लेख गरेको छ । इजरायलका अर्थमन्त्रीले युद्धका लागि आफ्नो देशले ६० अर्ब डलर भन्दा बढी चुकाउनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
हमास र हिजबुल्लाहविरूद्धको लडाइँले देशको अर्थतन्त्रमाथि गम्भीर असर पारिसकेको विश्लेषण गरिएको छ ।
ब्याङ्क अफ इजरायलका पूर्व गभर्नर कार्निट फ्लोगले सरकारले नोक्सानी कम गर्न कर बढाउनुपर्ने बताउनुभएको छ । अर्थविद्हरूले चुलिएको सैन्य खर्चलाई धान्ने हिसाबले खर्च कटौतीसहित सन् २०२५ का लागि बजेट प्रकाशित गर्न सरकारलाई अनुरोध गरिरहेका छन् ।