.

बंगलादेशमा फैलिएको दादुराले ५१२ बालबालिकाको मृत्यु

बंगलादेशमा फैलिएको दादुरा महामारीका कारण ५ सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । स्वास्थ्य विभागका अनुसार मार्च १५ यता मात्रै ५१२ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप १३ बालबालिकाको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

१७ करोड ५० लाख जनसंख्या रहेको बंगलादेशमा फैलिएको दादुरा महामारीलाई दशकौँयताकै सबैभन्दा घातक मानिएको छ । राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिएका छन् । विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्षमा पर्याप्त शय्या नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।दादुरा अत्यन्त संक्रामक भाइरल रोग हो । यो खोकी र हाछ्युँमार्फत फैलिने गर्दछ । विशेषगरी कुपोषित तथा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने र मृत्युसमेत हुने समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।


ढाकास्थित सहिद सुहरावर्दी मेडिकल कलेज तथा अस्पतालका बालरोग विशेषज्ञ ऐनुल इस्लाम खानका अनुसार अस्पताल पुग्ने अधिकांश बालबालिका गम्भीर अवस्थामा थिए । उनीहरूमा श्वासप्रश्वासमा समस्या, आँखा, घाँटी र फोक्सोमा संक्रमण देखिएको थियो ।


महामारी नियन्त्रणका लागि बंगलादेश सरकारले देशव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ । युनिसेफका अनुसार हालसम्म १ करोड ८० लाख बालबालिकासम्म खोप सेवा पुर्याइएको छ । तर, स्वास्थ्य विभागले यसको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ ।


युनिसेफले सन् २०२४ मा भएको विद्यार्थी आन्दोलन र त्यसपछिको अव्यवस्थाका कारण खोप कार्यक्रम प्रभावित भएको जनाएको छ । त्यसका कारण ठूलो संख्यामा बालबालिका नियमित खोपबाट वञ्चित भएका थिए ।


यसैबीच, ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसिपले खोपमा आएको कमीले औषधिप्रतिको प्रतिरोध क्षमता झन् बढ्न सक्ने चेतावनी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया