विराटनगर । तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिकाले प्लाष्टिकका र आयातित फूल बिक्रीमा रोक लगाएको छ । स्वदेशी फूल बिक्रीका लागि भने ४६ स्थान तोकिएको छ ।
स्वदेशमा उत्पादन भएका फूल बिक्री गर्न महानगरले ४६ स्थान तोकेको हो । महानगरका अनुसार तिहारमा स्वदेशी फूल उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न फूल बिक्री वितरण केन्द्रको व्यवस्था गरिएको हो ।
महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गर्न निषेध गरिएको जानकारी दिए । फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले बताए ।
महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडी गाउँ र बालाजु विष्णुमती करिडोरमा फूल किनबेचको व्यवस्था मिलाइएको थियो । यसवर्ष भने महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न दिपावली ,नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरणको प्रबन्ध गरेको हो ।
महानगरले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादनलाई प्रोत्साहन गरेर प्रशंसनीय कार्य गरेको छ । मेयर साहले आफूलाई पायक पर्ने स्थान छनोट गरी फूल बिक्री गर्न आग्रह समेत गरेका छन्।