विराटनगर । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्वीच एशिया तथा युरोपियन युनियन (ईयू) कोषबाट कार्बन उत्सर्जन कम गर्न कुशल भूमिका निर्वाह गरेकामा सम्मानित भएको छ । नगरपालिकाले गएको सात वर्षदेखि शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
धुलिखेल दक्षिण एशियामा शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाउँदै उत्कृष्ट शहरका रुपमा सम्मानित भएको हो । शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहरमध्ये पाँचौँ नम्बरमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका परेको हो ।
कार्बन उत्सर्जनलाई शून्यतामा झारेर वातावरणमैत्री बन्ने एशियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको मेयर अशोक ब्याञ्जुले बताउनुभयो । नगरले आकाशबाट झरेको पानी सङ्कलन गर्ने, उद्योगबाट उत्पादन हुने फोहोरको आफैँले ‘ट्रिटमेन्ट प्लान्ट’ बनाएर त्यस्ता उद्योगलाई १० प्रतिशत कर छुट गर्ने कानून निर्माण गरेको छ ।
यस्तै नगरले पानी ‘रिचार्जिङ’ कार्यक्रमको मोडेलअनुसार काम गरिरहेको छ । नगरले केही वर्षदेखि गाडीबाट उत्पन्न हुने प्रदूषण कम गराउने प्रविधि, उद्योग राख्दा पनि प्रदूषण नहुने तरिकाले प्रदूषण शून्य भएको सहर बनाउनेलगायतका काम गरेको ब्याञ्जूको भनाइ छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनले गत भदौमा धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको थियो । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर बन्नसमेत सफल भएको हो ।