प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। । भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा अवस्थाको समीक्षा र तयारीबारे छलफल गर्न आज बुधबार दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने गरी सचिवालयले जानकारी दिएको छ।
बैठकमा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति र चारवटै सुरक्षा निकायको परिचालनबारे विस्तृत छलफल हुने बताइएको छ। प्रधानमन्त्रीले यसअघि नै राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिइसकेकी छिन्।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति गरी ७ जना सदस्य रहने संवैधानिक व्यवस्था छ।
बैठकमा मुख्यगरी मौन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि र भोलिको मतदानका लागि आवश्यक सुरक्षा सतर्कताबारे ठोस निर्णय लिइने बुझिएको छ।