.

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो


विराटनगर , १३ चैत्र  । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।
मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।
मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ ।
मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गतवर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।
वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ। विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताउनुभयो ।
लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।
युरोप, अमेरिकालगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया