.

झापामा ३२ वर्षीय युवकको हत्या

विराटनगर । झापामा एक जना युवकको हत्या भएको छ । दमक नगरपालिका–९ का ३२ वर्षीय देशु भनिने यामु निरौलाको हत्या भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । 

उनका अनुसार कुटपिट गरेर निरौलाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जानकारी उनले दिए । 

दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको मंगलबार दिउँसो ४ बजेतिर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको सीसी क्यामेरा फुटेज पनि प्राप्त गरेको छ । 

दुई जनाले निरौलालाई लात्ती र मुक्काले बारम्बार प्रहार गरेको फुटेजमा देख्न सकिन्छ । प्रहरीले घटनामा संलग्नको पहिचान खुलाएको छैन । फरार रहेकाले खोजी भइरहेको डीएसपी चन्दले बताए । 

जग्गा विवादमा निरौलाको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धानपछि प्रष्ट हुने प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया