अविरल वर्षापछि आएको बाढीले काबेली र इन्द्रावतीखोलामा क्षति पुर्याउँदा ताप्लेजुङ र पाँचथर क्षेत्रमा सञ्चालनमा रहेका चार वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । बाढीका कारण कुल ५५ मेगावाट विद्युत् उत्पादन ठप्प भएको हो ।
शुक्रबार राति आएको बाढीले आयोजनाका बाँध, इन्टेक तथा अन्य संरचनामा क्षति पुर्याएपछि उत्पादन रोकिएको अमरपुर सव–स्टेशनले जनाएको छ । अरुण काबेली पावर लिमिटेड अन्तर्गत काबेली खोलाबाट उत्पादन हुँदै आएको २५ मेगावाट क्षमताको आयोजना तथा १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजना बाढीका कारण बन्द भएका छन् ।
कम्पनीका कर्मचारी लेखराज न्यौपानेका अनुसार बाढीले आयोजनाको इन्टेकलगायतका संरचनामा क्षति पुर्याएको छ । काबेली बी–१ को बाँध क्षेत्रमा बाढीले बगाएर ल्याएको ढुंगामाटो, लेदो र काठ थुप्रिएपछि उत्पादन प्रणाली अवरुद्ध भएको उनले बताए ।
त्यसैगरी रिडी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजना तथा इँवा हाइड्रोपावरले इन्द्रावतीखोलाबाट उत्पादन गर्दै आएको ९.७ मेगावाट क्षमताको आयोजना पनि बन्द भएका छन् ।
इँवा हाइड्रोपावरका कर्मचारी मौसम सेलिङका अनुसार बाढीले बाँधस्थल, इन्टेक, पाइपलाइन तथा विद्युत्गृह क्षेत्रमा क्षति पुर्याएको छ । क्षतिको विस्तृत विवरण संकलन तथा मर्मतको काम सुरु गरिएको जनाइएको छ ।
इसैगरि
अविरल वर्षासँगै आएको बाढीले तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ ।
वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो । एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बाढीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए।
गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर शनिबार स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।