विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्।
पोखरा महानगरपालिका १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताले लामिछानेविरुद्ध नाराबाजिसहित विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्।
रास्वपाका सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आएका हुन्।
पीडित बचतकर्ताले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण,’ ‘प्रहरी प्रशासनको दुरुपयोग बन्द गर’ जस्ता नारा लगाएका छन्।
सहकारीबाट ऋण लिएर गोर्खा मिडिया प्रालीमा लगेको रकम फिर्ता गर्न पीडित बचतकर्ताको माग छ।
सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत जेठ २३ गते नेकपा ९माओवादी केन्द्र० गण्डकीले पोखरा सभागृहमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा आएको बेला कालो झण्डा देखाएका थिए।
सूर्यदर्शन सहकारी प्रकरणमा हालसम्म ४४ जनालाई प्रतिवादी बनाइएको छ। हालसम्म छ जनामात्रै पक्राउ परेका छन्। ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष जिबि राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरलगायत ३८ जना फरार सूचीमा रहेका छन्।
पोखरा महानगरपालिकाले वित्तीय विश्लेषणसहित तयार पारेको ३ हजार ४१९ पृष्ठको लामो प्रतिवेदन प्रतिवेदनमा १८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको खुलाइएको छ। सहकारीको ऋणी संख्या ४३३ रहेको उल्लेख छ। १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत हिनामिन भएको प्रतिवेदनममा उल्लेख गरिएको हो। प्रतिवेदन अध्ययनकै क्रममा रहेको प्रहरीले जनाएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ।
गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेपछि सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी परेको हो। २०८० साउन २२ मा सहकारीपीडित जाहेरी दिएका हुन्।