सन्तोष मेहता,विराटनगर । विराटनगर नारी उत्थान समाज विराटनगर–५ ले छैठौं जितिया महोत्सव मनाएको छ ।
तीन दिनसम्म कठोर ब्रत बसेर मनाइने जितिया पर्वको महत्वका विषयमा पछिल्लो पुस्तालाई जानकारी दिने उद्देश्यसहित समाजले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ ।
समाजका अध्यक्ष चम्पादेवी पालको सभापत्विमा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पानसमा बत्ति बालेर उत्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले जितिया पर्वको आफ्नो छुट्टै महत्व रहेको उल्लेख गरे । उनले भने, ‘हाम्रो देशमा विविध भाषाभाषी, विविध संस्कृती र रितिरिवाज छन् । तिनलाई संरक्षण गर्दै सबैले एकअर्का प्रति सम्मानको भावना उजागर गर्न आवश्यक छ ।’
जितीया पर्वमा आमाहरूले आफ्ना सन्तानको लागि राम्रो होस् भनेर तीन दिनसम्म व्रत बसेर मनाउने भएकाले स्वास्थ्यमा समेत ख्याल गर्न उनले आग्रह गरे । यसैगरी प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रामप्रसाद मेहताले जितिया पर्वले छोराछोरीका लागि पनि महत्वपूर्ण सन्देश दिने बताए ।
उनले आमाहरूले सन्तानको लागि कठोर व्रत बस्ने तर सन्तानले तिनै आमाबुबालाई बृद्धाआश्रम पुर्याउने गरेको बताए । उनले यस्तो कार्यको अन्त्य हुनु पर्नेमा पनि जोड दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले जितिया पर्वको महत्वको उल्लेख गरेका थिए । उनले पछिल्लो समय सबै पर्वहरू सबैका लागि साझा भएको भन्दै खुसि व्यक्त गरे । उनले भने, ‘सबै संस्कृति प्रति सबैले सम्मान गर्ने कार्यले सकारात्मक संन्देश दिन थालेको छ । आगामी दिनमा यसलाई जिवन्त राख्न सबैले भूमिका खेल्न पर्छ ।’
सोही अवसरमा पत्रकार सन्तोष मेहतासहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको नन्दसिकशोर मेहताले जानकारी दिए ।
कार्यक्रममा गायक प्रकाश अनुरागले जितिया पर्वसँग सम्बन्धित लगायतका गीत प्रस्तुत गरेका थिए । साथमा स्थानिय कलाकारहरूले संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए भने कवि शिवनारायण पण्डित सिंगलले कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, रामसीता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण मेहतालगायत विभिन्न क्षेत्रका व्यक्ति तथा स्थानियको सहभागिता रहेको थियो ।