चालू आर्थिक वर्षको पहिलो ४ महिनामा मेची भन्सार कार्यालय, झापाबाट अलैँची निर्यातमा १ सय ९ प्रतिशतले भारी वृद्धि भएको छ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल एक हजार ८२३ मेट्रिक टन अलैँची बाहिरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब ९० करोड दुई लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
यस वर्ष अलैँचीको मूल्य प्रति मन (४० किलो) एक लाख १० हजार रुपैयाँसम्मले कारोबार भएको छ। बजारमा व्यापारीहरूले अलैँचीलाई मुख्यतः तीन किसिमले वर्गीकरण गरी चलनचल्तीको (सामान्य), पुच्छर काटेको र ठूलो दाना भएको कारोबार गर्दै आएका छन् ।