हरेक चार वर्षमा गरिने बाघको गणना आजदेखि शुरु हुदैछ ।
चितवनको सौराहामा औपचारिक कार्यक्रम गरी बाघ गणना शुरु गर्न लागिएको हो ।
वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भू–संरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष विश्ववन्यजन्तु कोष नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ ।
त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् । २ सय ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ ।
गणनामा १ हजार १ सय अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।
पाँचौं राष्ट्रिय बाघ गणनाको नतिजा आउँदो चैतमा सार्वजनिक गरिनेछ ।चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कप्लेक्स भनेर तीनखण्डमा विभाजन गरी वैज्ञानिक विधिबाट बाघको गणना गरिदैछ । बाघ गणनाका लागि झन्डै २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गएको वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।