.

यमनविरुद्ध नेपालले जितका लागि खेल्ने

विराटनगर , ४ मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्न चाहेको बताएका छन् ।


विश्वकप छनोटको समूह चरणमा आफ्नो दोस्रो खेल नेपालले भोलि मंगलबार काठमाडौंको दशरथ रंगशालामा खेल्दै छ ।


समूह चरणमा यूएईसँगको खेल ४–० ले हारेको नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । यस्तै पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएको यमन पनि अंक विहीन छ ।


आगामी चरणमा जानका लागि पनि यो खेल महत्वपूर्ण रहेकाले जित्नुपर्ने कप्तान लिम्बुले बताए । यो खेलका लागि तयारी राम्रो रहेको उनले बताए ।


नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि  छनोटमा यमनसँग खेलेको थियो । जसमध्ये सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरी भएको थियो । तर कतारमा भएको अवे खेलमा भने नेपाल यमनसँग २–१ ले पराजति भएको थियो


यमनसँगको खेलमा नेपालका लकेन लिम्बु खेल्ने छैनन् । उनको खुट्टा भाँचिएकाले खेल्न नसक्ने एनेसले जानकारी दिए ।


चोटका कारण यूएईसँगको खेल नखेलेका अनन्त तामाङले यमनसँगको खेल खेल्ने नखेल्ने अझै टुंगो छैन । उनका बारेमा मेडिकल टिमसँग सल्लाह गरेर निर्णय गर्ने प्रशिक्षक एनेसले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया