.

स्थानीय घैया धान लोप हुँदै : अनुसन्धान र किसानलाई प्रोत्साहन गर्न नसक्नु मुख्य समस्या

विगतमा पाखो बारी र खेत खोस्रेर आफैँले उत्पादन गरेका धानको चामलबाट भात खाने चलन थियो । त्यसैकारण घैया धानको खेती पनि हुने गर्थ्यो  । घैया धान वर्षातको पानीकै भरमा टार र पाखाबारीमा फल्थ्यो । विगतमा निकै चलनमा भए पनि अहिले घैया धान लोप हुने अवस्थामा पुगेको छ । सरकारले घैया–२ लाई २०४४ सालमा र घैया १ लाई २०६६ सालमा सिफारिस गरेको थियो । तर किसानले घैया धानको खेती गर्न छोडेपछि अहिले बीउ नै मासिएर लोप हुने हो कि भन्ने चिन्ता बढेको छ । पौष्टिक तत्वको मात्रा धेरै हुने घैया धानको चामल खाँदा बास्ना आउने र चिउरा समेत स्वादिलो हुने भए पनि खेती हुन छोडेपछि पछिल्लो पुस्ताले त घैया धान नै देख्न पाएका छैनन् । अहिले खेती गर्नुभन्दा चामलसहित धेरैजसो अन्न बजारबाट किनेर खाने अवस्था आएको छ । यही कारणले धेरैजसो कृषि उपजको उत्पादन घट्दो छ । त्यसमा पनि घैया धान त लोप नै हुने अवस्थामा पुगेको धानबालीका विज्ञ बताउँछन् ।

खेती सहज तर कार्यक्रम प्रभावकारी भएनन्

न धानको ब्याड राख्नुपर्ने, न त खेतलाई हिल्याएर रोप्नुपर्ने । हल्का चिस्यान भएमा बारी या खेतमा घैया धानको बीउ सहजै छर्न र खेती गर्न सकिन्छ । धानबालीका विज्ञ श्रवण साह भन्नुहुन्छ, ‘अलिअलि चिस्यान मात्रै भएमा जोतेर, जमिन खोस्रेर हातैले वा मेसिनले सहजै छर्न सकिन्छ । घैयालाई छरुवा धानकै रुपमा छर्ने हो ।’ सुख्खा, कम पानी पर्ने वा आकाशे पानीको भरमा खेती गरिने जग्गामा घैया धान उपयुक्त मानिन्छ । छरुवा प्रविधिबाट हुने घैया धान कम खर्च र लागतमा सहजै खेती गरी उत्पादन लिन पनि सकिन्छ । तर पाखो खेतबारीमा गरिने छरुवा धान घैया लोप हुने अवस्थामा पुग्नुमा खेती विस्तारका कार्यक्रम र किसानलाई प्रोत्साहन गर्न नसक्नु नै मुख्य कारण हो भन्नुहुन्छ धानबालीका विज्ञ डा.श्रवण साह । उहाँ भन्नुहुन्छ, ‘विगतमा गोरखा, लमजुङ, तनहुँलगायतका जिल्लामा अनुसन्धानका काम भएका थिए, त्यसबाट नतिजा पनि राम्रै आएको थियो तर पछिल्ला वर्ष घैयाका नयाँ जात र खेती विस्तारमा चासो भएन । सरकार तथा अनुसन्धान गर्ने निकायले पनि चासो कम दिएपछि यसको खेती हुन छाड्यो ।’ 

झारपात धेरै हुनु मुख्य समस्या

नेपालमा झण्डै ९० प्रतिशत धानको खेती वर्षायाममा गरिन्छ । मौसमले साथ दियो भने रोपुवा धानको खेती सहज हुन्छ । अहिले हाइब्रिड धानको प्रयोग निक्कै बढेको छ । यसबाट उत्पादन पनि धेरै लिन सकिन्छ । हिल्याएर हुने धानको खेतीमा झारपातको कम समस्या हुन्छ । अनि यसपालि मौसमले पनि साथ दियो । विगतको जस्तो खडेरी खेप्नु नपरेकाले धान रोपाइँ हुने धेरैजसो खेतमा उत्साहका साथ रोपाइँ भइरहेको छ । मुख्य गरी तराई क्षेत्रमा साउन मध्यसम्म रोपाइँको काम हुन्छ । पानी नभएको भए छरुवा धान खेती गर्नुपर्ने बाध्यता हुन्थ्यो । यसमा घैया धानको जातको पनि खोजी गरिन्थ्यो । प्रिमनसुनको सुरुवातमै गर्न सकिने घैया धान खेतीको यसपाली खासै चर्चा नै भएन । अनि नेपालमा अहिले घैया धानको खेती १० प्रतिशत पनि नभएको विज्ञको अनुमान छ । घैया छरुवा धान भएकाले झारपात धेरै हुने यसको मुख्य समस्या छ । कतै कतै छरुवाका रुपमा खेती गरिएको छ भने अब झारपात र मलको व्यवस्थापनमा ध्यान दिन धानबालीका विज्ञ साहको सल्लाह छ । अहिले खेती घटेको भए पनि जलवायू परिवर्तनका असर बढ्दै गएको अवस्थामा आउँदा दिनमा धानखेतीको उपयुक्त विकल्पको रुपमा घैया जस्ता छरुवा धान खेतीलाई विस्तार गर्नुपर्नेमा उहाँको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया