.

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन

विराटनगर । काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज बुधवार सामाजिक सञ्जालमार्फत निर्देशन दिनुभएको छ ।मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गर्नुभएको छ । महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताउनुभएको छ । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।नार्कोटिक औषधिको प्रचलित ऐन कानुनअनुसार बिक्री नगरिएको र ती औषधिको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई औषधि पसल सञ्चालनमा रहेका गुनासा आएका छन् । साथै महानगरको अनुगमनमा पनि यस्ता गुनासा आएका हुँदा कानुनअनुसार काम गर्न भनिएको छ । मङ्सिर २९ गतेभित्र महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलले सुधारात्मक काम नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन हुने र महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर शाहले चेतावनी दिनुभएको छ । यदि कानुन विपरीत काम भएको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी जानकारी दिन पनि महानगरवासीलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया