.

मोरङमा आमा–छोरीमाथि खुकुरी प्रहार, पेस्तोलसहित एकजना पक्राउ

विराटनगर ३ फाल्गुन । मोरङको केराबारीमा आमा– छोरीमाथि बिहीबार बिहान खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् ।
खुकुरी प्रहारबाट दुवैजनाको टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनीहरुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । 
आमा–छोरीमाथि लेटाङ नगरपालिका–१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले बिहान ९ः३० बजेतिर खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । त्यसपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेका थिए । प्रतिकारबाट नीरकुमारसमेत घाइते भएको प्रहरीको भनाइ छ । 
अनुहारमा चोट लागेका उनलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीले उपचारका लागि नगर अस्पताल बेलबारीमा भर्ना गरेको छ । प्रहरी नियन्त्रणमा उपचार गराइरहेका उनी बोल्न सक्ने अवस्थामा छैनन् । माइजू र बहिनी (माइजूकी छोरी) लाई खुकुरी हानेका आरोपीको साथबाट एउटा सक्कली र अर्काे नक्कली पेस्तोलसमेत फेला परेको छ । 
एसपी पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको उनले बताए । सक्कली र नक्कली पेस्तोल तथा घटनामा प्रयोग गरिएको खुकुरीसहित नीरकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया