विराटनगर , १२ चैत्र । आज तराईका जिल्लामा हर्षाेल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा होली पर्व मनाइदैँछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ ।
प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिनुभयो । सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन्, । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ ।
होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताउनुभयो ।