विराटनगर । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ ।
आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्याएर खोज्न लागिएको हो ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए ।
बस र यात्रुहरुको खोजीमा गत शनिबारदेखि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) टोलीसमेत परिचालित भएका छन् ।