.

कोशी प्रदेशमा १६ औं गणतन्त्र दिवस भव्य मनाईने

विराटनगर ९ जेठ । कोशी प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ । आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ १४, १५ र १६ गते गरि तीन दिन सम्म दिवस मनाईने निर्णय गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा महानगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको सरसफाई तथा सौन्दर्यकरण गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारहरुको सम्मान कार्यक्रम गरिने तय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश वस्नेतले जानकारी दिनुभयो । १६ औं गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले बृक्षारोपण गर्ने कार्यक्रम तय भएको सचिव वस्नेतले बताउनुभयो । उहाँका अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेशसँगको सहकार्यमा टेलिभिजनमा परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिने छ ।

दिवसका अवसरमा तीन दिन नै दीपावली गर्नका लागि पनि प्रदेश सरकारले आग्रह गरेको छ । गणतन्त्र दिवसका अवसरमा १३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरु मार्फत परिपत्र गर्नका लागि मुख्यमन्त्री कार्कीले आन्तरिक मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ । उहाँले लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै अहिले चुनौति देखिएको बताउनु भएको छ । उहाँले गणतन्त्र दिवसको कार्यक्रम प्रभावशाली बनाउन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा प्रदेशका सवै मन्त्रालयका सचिवहरु, प्रंदेशसभाका सचिव, तीन वटै सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया